सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैङ्क लिमिटेड राष्ट्र बैङ्कद्धारा सम्मानित 



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको एक समारोहका बिच वाणिज्य बैङ्कहरू मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैङ्क लिमिटेडलाई सम्मानित गरेको छ ।

सो समारोहमा सम्मान स्वरूप नेपाल राष्ट्र बैङ्कका गभर्नर श्री महाप्रसाद अधिकारीले हिमालयन बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शमशेर राणालाई प्रशंसा पत्र हस्तान्तरण गरेका छन् । हिमालयन बैङ्कले आ.व. २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमाल रेमिट” मार्फत ग्राहकहरूलाई समयानुकूल सेवा–सुविधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बैङ्कले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ ।

हाल बैङ्कले देश भरि फैलिएका हिमाल रेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रूपमा भुक्तानी गर्दै आएको छ भने बैकले देश भरि रहेका १८९ शाखाहरू, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टी.एम हरूबाट आफ्ना ग्राहक वर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्