मानव सेवा आश्रम वीरगन्ज शाखाको भवन निर्माणको काम सुरु 



वीरगन्ज । मानव सेवा आश्रम वीरगन्ज शाखाको भवन निर्माणको काम सुरु भएको छ । सोमवार भूमि पूजन गरेर औपचारिक रूपमा भवन निर्माणको काम सुरु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा महानगरले उपलब्ध गराएको १८ कट्ठा जग्गामा भवन निर्माणको काम सुरु गरिएको हो ।

वीरगन्ज महानगरपालिकाले भवन निर्माणका लागि २५ लाख रुपैयाँ पनि उपलब्ध गराएको छ । यसका साथै मधेस प्रदेश सरकारले ७५ लाख रुपैयाँ र निवर्तमान मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्रीको कार्यालयबाट बाउण्ड्री निर्माणको लागि ४० लाख रकम विनियोजन गरिदिएका थिए ।

आश्रमका संरक्षक एवम् मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा।दीपक शाक्य, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको उपस्थितिमा भूमि पूजन गरिएको आश्रमकी संयोजक सानुमाया गुरुङले बताइन् । वैशाख १४ गतेदेखि भएको सम्झौताबमोजिम असार १० गतेभित्र काम सक्नुपर्ने सम्झौता भएको उपभोक्ता समितिका संयोजक प्रकाश थारुले बताए ।

जम्मा १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगन्ज शाखाको भवनको भूमि पूजन सोमवार भए पनि ११ चैत २०७८ मा एक कार्यक्रमका बिच शिलान्यास गरिएको थियो । निवर्तमान मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका निवर्तमान प्रमुख विजय कुमार सरावगीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए ।

मानव सेवा आश्रम वीरगन्जका संस्थापक एवम् केन्द्रीय सदस्य देवेश गुप्ताकाअनुसार तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको हो । रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको गुप्ताले बताए । गर्मी चिसो र जाडोमा न्यानो हुने भएकाले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको गुप्ताको भनाई छ ।

भोजपुरी कला संस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने योजनाबमोजिम काम भइरहेको गुप्ताले बताए । १४ कट्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरू, हेरचाहमा खट्नेहरूका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने तयारी छ ।

०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगन्ज शाखामा ६० जना आश्रित छन् । जसमध्ये ५ जना बालबालिका छन् भने ४५ जना आमा र १० जना बुबाहरू रहेका छन् । सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षी मानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्नुको साथै पारिवारिक पुनर्मिलन पनि गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्