ठगी आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ



काठमाडौँ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले ठगी गरेको आरोपमा तीन जनालाई मङ्गलवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका९४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका९११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं९४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल रहेका प्रवक्ता एवं एसपी नवराज कार्कीले  जनाकारी दिएका छन् ।

राघव सापकोटा उक्त अस्पतालको एजिक्युटिभ आइपी बिलिङको रूपमा कार्यरत थिए। अन्य दुई जना पनि बिलिङ सेक्सनमा रहेका थिए । बिलिङको लागि मेडिसिटी अस्पतालमा सुक्र नामक एचएमआइएस सफ्टवेयरको प्रयोग गरिएको थियो।

त्यही सफ्टवेयरमार्फत बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्ज लिएर सिस्टममा इन्ट्री गरिन्थ्यो। आरोपीहरूले बिरामीहरूबाट वास्तविक शुल्क लिएका थिए।  तर सिस्टममा इन्ट्री गराउँदा भने उनीहरूले वास्तविक शुल्कभन्दा कम गराएको पाइएको हो । यसरी उनीहरूले दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको पाइएको छ।

‘बिरामीलाई उनीहरूले बिल बुझाउँदा पनि वास्तविक बिल नै बुझाउँथे। तर रकम इन्ट्री गराउँदा भने कम हालेर त्यसबापत केही रकम आफूहरूले नै लिएर ठगी गरेको देखियो प्रहरीले जनाएको छ ।  तर उनीहरूले जागिर छोडी सकेका थिए ।  अस्पताल प्रशासन घाटामा गइरहेको बेलामा जागिर समेत छाडेपछि प्रहरीले उनीहरूमाथि नै शंका गरेको थियो। अनुसन्धान गर्नेक्रममा उनीहरूले ठगी गरेको खुलेको हो ।

उनीहरूमाथि आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ। घटनामा अन्य पूर्वकर्मचारीहरू समेत संलग्न रहेको र उनीहरूको खोजिकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्