भैँसी देख्ने संसद् किन देख्दैन रोग ?



thenepaltop

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतले नेपाललाई मुर्रा जातका राँगा दिएको विषयले संसद्‌देखि सामाजिक सञ्जालसम्म तात्यो। संसद्‌मा नियमापत्ति हुँदै प्रधानमन्त्री राँगा चढेर नेपाल फर्किएको भन्ने अभिव्यक्तिसमेत रेकर्डबाट हटाइयो।

तर, दुःखका साथ भन्नुपर्छ– तिनै भैँसी र गाई महिनौँदेखि लम्पी स्किन नामक रोगले भटाभट मरिरहेका छन्। नेपालमा न यसको उपचार छ न कुनै सांसद, मन्त्री या विपक्षी दलका नेताले नै कृषकलाई परेको यो मर्काका विषयमा बोलिरहेका छन्। देशभर फैलिएको यो रोगबाट कृषकले करोडौँको नोक्सानी मात्र बेहोरेका छैनन्, उपचार पाउने पशुको अधिकारमाथि निर्मम हमलासमेत भइरहेको छ।

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखियो। केही समय सब–सहारन अफ्रिकामा सीमित बनेको यो रोग बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एसियासम्म फैलिसकेको छ।

राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बंगलादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो। पशु सेवा विभागको तथ्यांकअनुसार यो रोग नेपालमा २०७७ साउनमा नेपालको मोरङमा पहिलो पटक देखियो।

अहिले पनि नेपालको पूर्वी क्षेत्रका पशु यो रोगबाट बढी ग्रसित छन्। विभागको तथ्यांकले लम्पी स्किनबाट हालसम्म १५ हजारभन्दा बढी गाईभैँसी प्रभावित बनेको भन्छ। तर, सरकार र संसद् यो विषयमा बेखबर जस्तै छन्। तराई र मध्य पहाडका जिल्लामा सीमित यसको संक्रमण हिमाली क्षेत्रमा पनि पुग्नु थप चिन्ताको विषय बनेको छ।

संसद्‌मा यतिबेला बजेटको चटारो छ। यो स्वाभाविक पनि हो। तर, विषयान्तर भएर विभिन्न पक्षमा बहस भइरहँदा नेपालका कृषकहरू प्रत्यक्ष प्रभावित भएको यो विषय नियन्त्रणका लागि उपाय खोज्ने सहितको बहस संसद्मा हुनै सकेन । सांसदहरू यस विषयमा गम्भीर बन्नैपर्छ।

रोगको नियन्त्रण गर्न पशु सेवा विभागले तत्काल इपिडिमियोलोजिकल अध्ययन गरी रोग नियन्त्रण योजना बनाएन भने पशुपालक कृषकहरू गम्भीर नोक्सानीमा पर्ने निश्चित छ। रोग देखिएको बिन्दुबाट अन्य ठाउँमा रोग फैलिन नदिनसमेत अहिलेसम्म कुनै कदम चालिएको छैन।

रोगको भ्याक्सिन अहिलेसम्म नबने पनि नियन्त्रणका लागि आवश्यक सावधानी कसरी अपनाउने भन्ने विषयमा कृषकलाई जानकार बनाउनैपर्छ। स्थानीय तह र प्रदेशस्थित भेटेरिनरी अस्पतालले रोग देखिएको स्थानबाट निश्चित दुरीसम्म संक्रमित क्षेत्र घोषणा गर्ने, गाइभैँसी खरिद–बिक्रीअघि यो रोगको लक्षण अनिवार्य पहिचान गर्ने जस्ता काममा अग्रसरता लिनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्