सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई



 काठमाडौँ । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने भएको छ ।अन्तर्देशीय सङ्गठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाबिच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।

विभागले हालसम्म राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अघि बढाइरहेको थियो । तर, सुन प्रकरणमा सङ्गठित गिरोहको संलग्नता र यसमा भारत र चिनियाँ सुरक्षा निकायसँग समेत समन्वय गरेर विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले सीआईबीमार्फत अघि बढाउने निर्णय  गरिएको हो ।

 सुन प्रकरणको विषयमा प्रमुख प्रतिपक्ष दल एमाले सरकारमा रहेका नेताहरूको पनि नाम जडिएको भन्दै कारबाहीको माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका बैठक अवरुद्ध गरेको छ । सुन तस्कर प्रकरणमा छानबिन समिति बनाउनुपर्ने एमालेको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्