सुन तस्करीको प्रकरणमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : महरा



काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि  आफूले सहयोग गर्ने बताएका छन् । दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर  बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् ।

उनले भने, ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका  लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’

उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिक रुपमा मात्र चिनेको बताए । त्यसबाहेक उनलाई आफूले नचिनेको महराको भनाइ छ ।  सुन प्रकरणमा आफूलाई बिना कारण मुछिएको महराको भनाइ रहेको छ । उनले सुन तस्करीको भनेको टेलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलेकट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।

उनले भने, ‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरूलाई कुराकानी गरेर कानुन अनुसार हेरेर मात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो । यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’

प्रतिक्रिया दिनुहोस्