आज विभिन्न कार्यक्रम आयोजना गरी गाईजात्रा पर्व मनाइँदै



काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाई यो पर्व मनाइन्छ  । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

गाईजात्राको अवसरमा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रस्तुतसहितका कार्यक्रम गर्ने चलन पनि रहेको छ । राजा प्रताप मल्लले पुत्रशोकले विहृवल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ९आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको बताइन्छ । यति गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि विभिन्न प्रकारका व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउन आदेश दिएपछि हाँस्यव्यंग्यको चलन सुरु भएको जनश्रुती छ ।

प्रतिक्रिया दिनुहोस्