सेयर बजार परिसूचक नेप्सेमा निरन्तर गिरावट 



काठमाडौँ । साताको दोस्रो कारोबार दिन  सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार करिब साढे १९ अङ्कले ओरालो लागेको बजार आज सोमबार पनि ओरालो लागेको हो ।

सोमबार नेप्से परिसूचक ५.८९ अङ्कले ओरालो लागेको हो । नेप्से आज ओरालो लागेसँगे २००४.४५ विन्दुमा झरेको छ। त्यसै गरी, सोमबार सेन्सेटिभ इण्डेक्स १.९४ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.७३ अङ्कले ओरालो लागेको छ ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८४ स्टकको ७८ हजार ४२१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ६५ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसै गरी, सोमबार इष्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ।

सोमबार दुई स्टकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सोमबार सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सोमबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९५ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्