इजरायलमा समस्यामा रहेकाको उद्धार र मृत्यु भएका १० नेपालीको शव ल्याउन विवरण सङ्कलन सुरु



काठमाडौँ । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ ।

दूतावासले इजरायलमा पछिल्लो परिस्थितिकाबीच समस्यामा र त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन दर्ता गर्न अनुरोध गरेको छ । दर्ताका लागि दूतावासले उपलब्ध गराएको लिङ्कमा गएर आफ्नो विवरण राख्न भनेको छ । दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयतता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि अनुरोध गरेको छ ।

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको, ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जना सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ ।

इजरायल प्यालेस्टाइनको हमास समूहको युद्धमा परी ६०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ भने एक सय भन्दा बढी व्यक्ति अपहरणमा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्