४ महिना यताकै न्यून विन्दुमा नेप्से



काठमाडौँ । पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से  मङ्गलवार पनि ओरालो लागेको छ । आज मङ्गलवार नेप्से परिसूचक १९.०६ अङ्कले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै १८८९.५९ विन्दुमा झरेको छ। पछिल्लो करिब साढे ४ महिना यताकै न्यून विन्दु हो। यस अघि गत जेठ १८ गते नेप्से १८६६.३४ विन्दुमा बन्द भएको थियो।

मङ्गलवार सेन्सेटिभ इण्डेक्स ३.४५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अङ्क घटेको छ। त्यसै गरी सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अङ्क घटेको छ।नेप्से घटे पनि मङ्गलवार कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब १७ करोडको सेयर खरिदबिक्री भएको बजारमा २८२ स्टकको ४४ हजार ६९ पटकको कारोबारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर  किनबेच भएको छ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.८६ प्रतिशत बढेको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। मङ्गलवार बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ। त्यस्तै, गरिमा विकास बैङ्कको ऋणपत्रको मूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा मङ्गलवार सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको मङ्गलवार २० करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसै गरी , नबिल बैङ्कको करिब साढे ३ करोडको सेयर र खरिदबिक्री भएको छ।

मङ्गलवार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैङ्क, होटेल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्