बलिउड अभिनेत्री आलिया भाटलाई सर्वोत्कृष्ट अभिनेत्री फिल्म अवार्ड 



काठमाडौँ । बलिउड अभिनेत्री आलिया भाटले सर्वोत्कृष्ट अभिनेत्री फिल्म अवार्ड पाएकी छन् । उनले सर्वोत्कृष्ट अभिनेत्री विधातर्फ भारतको नेसनल फिल्म अवार्ड पाएकी हुन् । वेश्यालय सञ्चालकको कथामा आधारित गंगुबाई काठियावाडी चलचित्रको मुख्य भूमिकाका लागि आलियालाई पुरस्कृत गरिएको हो ।

११ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री आलियाले नेसनल फिल्म अवार्ड, फिल्मफेयर अवार्ड, जी सिने अवार्ड, इफा अवार्डलगायत हालसम्म ५० बढी अवार्ड प्राप्त गरेकी छन् ।

भारत सरकारद्वारा दिइने यो पुरस्कार भारतको चलचित्र उद्योगका लागि प्रतिष्ठित मानिन्छ । भारतको नयाँ दिल्लीमा मङ्गलवार आयोजित नेसनल फिल्म अवार्डको ६९ औं समारोहमा विभिन्न ४६ विधामा अवार्ड वितरण गरिएको थियो । भारतकी राष्ट्रपति द्रोपदी मुर्मूले पुरस्कार दिएकी थिइन् ।

त्यस्तै दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले पुष्पा स् द राइजका लागि सर्वोत्कृष्ट अभिनेताबाट सम्मानित भएका छन् । गोदावरी चलचित्रका निर्देशक निखिल महाजनले सर्वोत्कृष्ट निर्देशक, ‘रकेट्री’ लाई बेस्ट फिचर फिल्म, आवसाव्युहम्लाई वातावरण संरक्षणसम्बन्धी सर्वोत्कृष्ट फिल्म विधाको पुरस्कार दिइएको छ । त्यस्तै साठीदेखि सत्तरी दशककी सफल बलिउड अभिनेत्री वहिदा रहमानलाई दादासाहेब फाल्के लाइफ टाइम अवार्डबाट सम्मानित गरियो । वहिदाका प्यासा, कागजके फूल, गाइड, नीलकमल, खामोसी, रेश्मा और शेरालगायतका सिनेमामा निकै चर्चित मानिन्छन् । उनले सन् १९७१ मा रेश्मा और शेराका लागि सर्वोत्कृष्ट अभिनेत्री विधामा नेसनल फिल्म अवार्ड पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्