क्युआर स्क्यान गरेर कर तिर्न सकिने



काठमाडौँ । चितवनको खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू गरेको छ । खैरहनी नगरवासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवाना तत्काल क्युआर कोड मार्फत तिर्न सकिने व्यवस्था गरेको हो । डाई नामिक क्युआरको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीलाई सजिलो भएको छ । डिजिटल वालेट वा मोबाइल बैङ्किङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्युआर कोड स्क्यान गरी भुक्तानी गरेर तुरुन्तै कर तिरेको रसिद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको हो ।

सेवाग्राहीको सहजताको लागि कर तिर्न विद्युतीय भुक्तानी सेवाको विस्तार गर्ने चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो । सुरुमा ई सेवा बाट सुरुवात गरिएको भुक्तानी प्रणालीलाई निरन्तर सुधार गरी हाल ई सेवा सँगै खल्ती, कनेक्ट आइपिएस र डायनामिक क्युआर  मार्फत भुक्तानीको व्यवस्था गरिएको नगर प्रमुख खनियाले जानकारी दिनुभयो ।

नगरपालिकाको सेवालाई विद्युतीय शासन मैत्री बनाउँदै नागरिकहरूले नगरपालिकाको सेवा घर घरबाटै प्राप्त गर्न सक्ने गरी सूचना प्रविधिको उपयोग गरेको गरिएको हो । नगरपालिकाले यस अघि नै राजस्व रकम अनलाइन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू गरेको थियो । सोही प्रणालीलाई थप समयानुकूल र प्रभावकारी बनाउन परिष्कृत गरी क्युआर स्क्यान सुविधा ल्याएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्