बैङ्कहरूले घटाए निक्षेपको ब्याजदर



काठमाडौँ । माघ महिनाका लागि वाणिज्य बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

गत असार मसान्तसम्म निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गरेका बैङ्कहरूले साउनदेखि उक्त सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।

बैङ्कहरूले अधिक तरलता भएर ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैङ्कमा निक्षेप राख्नुपर्ने तर कर्जाको माग तत्काल बढ्ने अवस्था नभएपछि निक्षेपको ब्याजदर घटाएर कोषको लागत घटाउने रणनीति लिएका छन् ।

कोषको लागत घट्दा आधार दर घटेर कर्जाको ब्याजदर घट्दा ऋणीलाई राहत हुन्छ । त्यस्तै बैङ्कहरूले लगानी गर्न नसकेको तरलताको समेत लागत घट्न जान्छ । २० मध्ये १८ वटा वाणिज्य बैङ्कले माघका लागि व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन् ।

राष्ट्र बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदर बिचको अन्तर बढीमा ५ प्रतिशत भन्दा हुन नहुने व्यवस्था गरेको छ । यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैङ्कहरूलाई व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

वाणिज्य बैङ्कहरूले माघको ब्याजदर प्रकाशित गरेका हुन । माघमा एनएमबि बैक र एभरेष्ट बैङ्कले पुसको ब्याजदर यथावत् राखेका छन् । बैङ्कहरूले निक्षेपको अवधि अनुसार ब्याजदरलाई विविधीकरण गर्दै प्रकाशित गरेका छन् । माघमा सबैभन्दा कम ब्याजदर कृषि विकास बैङ्कले दिने भएको छ । बैङ्कले २ देखि १५ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ७.२६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यस्तै एभरेष्ट बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत् राख्दै अन्य ब्याजदर प्रकाशित गरेको हो । ५ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर पाइने बैङ्कले जनाएको छ । एनएमबि बैङ्कले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पुसकै ९ प्रतिशतलाई माघमा पनि निरन्तरता दिएको छ । ३ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा मात्रै उक्त ब्याजदर पाइने बैङ्कले जनाएको छ ।

माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर सिटिजन्स बैङ्कको छ । बैङ्कले ५ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ९।१५ प्रतिशत ब्याजदर दिने भएको हो । पुसमा ९.३५ प्रतिशतको ब्याजदर बैङ्कले माघमा घटाएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले पनि ३ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.६० प्रतिशत ब्याजदर दिने भएको हो । नेपाल एसबिआई बैङ्कले १ वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर दिने भएको छ । हिमालयन र सानिमा बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.१५ प्रतिशत ब्याजदर प्रकाशित गरेका हुन् । दुवै बैङ्कले १ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् । कुमारी बैङ्कले ५ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.११ प्रतिशत, प्राइम कमर्सियल बैङ्कले पुसमा १० प्रतिशत रहको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ८.१० प्रतिशतमा झारेको छ । बैङ्कले १० वर्षभन्दामाथिको निक्षेपमा उक्त ब्याजदर प्रकाशित गरेको हो ।

सिद्धार्थ, ग्लोबल आईएमई र नबिल बैङ्कले पनि ८.१० प्रतिशत ब्याजदर नै प्रकाशित गरेका छन् । सिद्धार्थ बैङ्कले १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा, ग्लोबल आईएमई बैङ्कले १ देखि १० वर्षको व्यक्तिगत मुद्दती निक्षेपमा र नबिल बैङ्कले १ देखि ५ वर्षको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर प्रकाशित गरेको हो ।

राष्ट्रिय वाणिज्य बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ८.०७ प्रतिशत ब्याजदर दिने भएका हुन् । राष्ट्रिय वाणिज्य बैङ्कले २ वर्ष वा त्यसभन्दा बढी अवधिको र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ५ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएको हो । पुससम्म छोटो अवधिको निक्षेपमा बढी ब्याजदर राखेको बैङ्कले माघमा छोटो अवधिको ब्याजदर घटाएर लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

प्रभु र एनआईसी एशिया बैङ्कले ८.०६५ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । प्रभुले ६ महिनाभन्दा बढी अवधिको र एनआईसी एशियाले २ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् ।

माछापुच्छ्रे, लक्ष्मी सनराइज र नेपाल बैङ्कले ८ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । माछापुच्छ्रेले १ वर्षभन्दा माथिको, लक्ष्मी सनराइजले २ वर्षभन्दा माथिको र नेपाल बैङ्कले ३ महिनाभन्दा माथिको सबै व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्