दोस्रो त्रैमासको अन्तिम कारोबार दिन बढेर बन्द भयो नेप्से



काठमाडौँ । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार झिनो अङ्क घटेर बन्द भएको नेप्से, आइतबार भने साढे १ प्रतिशत बढेको हो ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३१.६२ अङ्क बढेर २१२०.६२ विन्दुमा पुगेको छ। त्यसै गरी, आइतबार सेन्सेटिभ इण्डेक्स ४.०२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.१० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३५ प्रतिशत बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३० करोडको सेयर खरिदबिक्री भएको बजारमा  ३१४ स्टकको ९४ हजार ५२६ पटकको कारोबारमा ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

आइतबार ११ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन्। त्यसै गरी, अन्य ४ स्टकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मेगा म्युचुअल फण्ड १ को इकाई मूल्य आइतबार साढे ९ प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ४.३१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आइतबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ। त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। आइतबार जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। त्यस्तै,  अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्क, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्