बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना आज छुट्ने



काठमाडौँ । बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई प्रहरीले आज छाड्ने तयारी गरेको छ ।

जिल्ला अदालत काठमाडौँले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश दिएपछि प्रहरीले उनीहरूलाई आज छाड्न लागेको हो ।

यससँगै उनीहरूलाई किर्ते र ठगीमा अनुसन्धान कायम राख्दै हाजिर जमानीमा छोड्ने तयारी भएको छ । अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् ।

दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरूलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका व्यवसायी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसबारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापा पक्राउ परेका थिए ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी बनाएको आरोप लागेका अरुण चौधरीविरुद्ध ४३ जना स्थानीयले ठगीको जाहेरी दिएका छन् । सार्वजनिक जग्गा हड्पिएको भन्दै ४३ जना स्थानीय बासिन्दाले बाँसबारीस्थित काठमाडौँ महानगरपालिका ३ कार्यालयमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्