रौतहटमा जग्गा विवादमा दुई पक्षबिच झडप हुँदा एकको मृत्यु



काठमाडौँ ।  रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको विषय लिएर भएको दुई पक्षीय झडपमा एक जनाको ज्यान गएको छ भने एक जना पक्राउ परेका छन् । दुर्गा भगवती–२ भलोहियामा भएको दुईपक्षीय झडपमा स्थानीय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको हो ।

दुर्गा भगवती– २ भलोहिया हाल पिपरा सीमानामा बस्दै गरेका ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतोबीच शुक्रवार अपराह्न झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुईँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाशलाई गाउँमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न एक जना मानिस पक्राउ गरिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थल सदरमुकाम गौरदेखि झन्डै १५ किलोमिटर उत्तर पूर्वमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्