गहुँ बीउ तस्करी हुँदा पनि देख्दैन भन्सार



                जोगवनी नाका हुँदै अवैध रूपमा भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको गहुँको बीउ ।

विराटनगर : नेपालमा गहुँ छर्ने सिजन सुरु भइरहँदा गहुँको बीउ भने भारततर्फ तस्करी हुने गरेको पाइएको छ । नेपाली कृषकहरूले गहुँको बीउ पाउन मुस्किल परिरहेका बेला भारततर्फ भने धमाधम यसको तस्करी भइरहेको हो ।

 

नेपालबाट गहुँको बीउ भारत लैजान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । तस्करीमा संलग्नले विराटनगरको जोगबनी, मटेरुवा, दरैया, हुलासमेटल समेतका नाका हुँदै रौतहट, मकवानपुर समेतका जिल्लाबाट कृषकलाई लक्षित गरेर आयात गरिएको गहुँको बीउ भारत कटाउने गरेको खुलेको छ ।

 

एनल २९७, एनल ९७१, गौतम, विजय, आदित्यलगायत जातका गहुँको बीउ अवैध रुपमा भारत लैजाने गरिएको हो । भारतको जोगबनीतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकै पटकमा एक हजार किलोग्राम गहुँको बीउ बरामद गरेपछि नेपालबाट भारतर्फ हुने गरेको गहुँ तस्करीबारे बाहिर आएको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङको टोलीले बीउ बरामद गरेर आवश्यक कारवाहीका लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

 

गुल्मका डीएसपी सुरेन्द्रराज रन्जितका अनुसार २५ बोरा (प्रतिबोरा ४० किलोग्राम) गहुँ बरामद गरिएको हो । सशस्त्र प्रहरीको टोलीलाई देख्न साथ गहुँ तस्करीमा संलग्नहरू भने फरार बनेको उनले बताए । ‘लामो समयदेखि नेपालबाट भारततर्फ गहुँको तस्करी भइरहेको छ भन्ने सूचना आइरहेको थियो,’ रन्जितले भने, ‘विशेष सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरीको टोलीले अवैध रुपमा तस्करी भइरहेको गहुँको बीउ बरामद ग¥यो ।’

 

भारतमा पनि बीउ प्रयोजनकै लागि गहुँको तस्करी हुने गरेको सशस्त्र प्रहरीको भनाइ छ । नेपालभन्दा महँगो मूल्य पर्ने भएपछि भारततर्फ गहुँको बीउ तस्करी गर्ने गरेको पाइएको छ । गहुँको बीउकै कारोबार गर्दै आएका विराटनगरका एक व्यापारीका अनुसार नेपालमा दुई हजार सात सय रुपैयाँ प्रतिबोरा पर्ने गहुँको बीउलाई भारतमा चार हजार रुपैयाँ भन्दा बढी पर्ने गरेको छ ।

 

नेपालमा भन्दा भारतमा बढी मूल्य पर्ने भएका कारण पनि प्रतिबन्धित गहुँको बीउ तस्करी हुने गरेको डीएसपी रन्जितले बताए । उनका अनुसार साइकल, ठेला, रिक्सा र सिटी सफारी समेतको प्रयोग गरेर गहुँको बीउ भारततर्फ लग्ने गरेको पाइयो ।

 

‘सिजनमा गहुँको बीउ नपाएर नेपाली कृषक समस्यामा परिरहेका बेला नेपालबाटै बीउ धमाधम भारततर्फ तस्करी भइरहेको खुलेको छ,’ रन्जितले भने, ‘गहुँ तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीको विशेष टोली सबै नाकामा परिचालन गरिएको छ ।’

 

उनले विभिन्न खाद्य वस्तुका बीउ तस्करी हुने गरेको पाइएपछि सबै नाकामा नेपाल प्रहरीसंग समेत समन्वय गरेर कडाई गरिएको बताए । उनका अनुसार विभिन्न सरकारी तथा निजी कम्पनीबाट कृषकलाई बिक्री वितरण गर्न भनेर ल्याइएको गहुँ तस्करीमा संलग्नले अवैध रूपमा भारततर्फ पु¥याउने गरेका हुन् ।

 

सुनसरीको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड इटहरीलगायत सरकारी तथा निजी संस्थान र कम्पनीले विभिन्न माध्यमको प्रयोग गर्दै कृषकका लागि बीउ उपलब्ध गराउँछन् । रौतहट, मकवानपुर लगायतका जिल्लाबाट पूर्वमा गहुँको बीउ झिकाएर कृषकलाई उपलब्ध गराइन्छ ।

 

विराटनगरमा लामो समयदेखि गहुँको बीउको कारोबार गर्दै आएका मनोज इन्टरप्राईजेजका संचालन मनोज गोयलका अनुसार भारतसंगको खुल्ला सीमानाका कारण गहुँको बीउ भारततर्फ तस्करी हुने गरेको हो । ‘नेपालमा भन्दा भारतमा गहुँको बीउको मूल्य पनि महँगो पर्ने गरेको छ,’ उनले भने, ‘नेपालमा उत्पादन गरिएको बीउ भारतको भन्दा गुणस्तरिय हुने भएकाले पनि भारतीय कृषकको रोजाइमा पर्ने गरेको हो ।’

 

गोयलले नेपालमा उत्पादित बीउले उत्पादन राम्रो दिने भएका कारण भारतीय कृषकको रोजाईमा पर्दा गहुँको बीउ भारततर्फ तस्करी हुने गरेको बताए । उनका अनुसार गुणस्तरीय र उत्पादन राम्रो दिने भएकै कारण भारतीय कृषक नेपालमा उत्पादन गरिएको गहुँको बीउलाई बढी मूल्य तिर्न तयार हुन्छन् ।

 

राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड इटहरीका प्रमुख राजेश्वर श्रेष्ठले विभिन्न ठाउँबाट झिकाइने गहुँको बीउ बिक्रेतामार्फत कृषकसम्म पु¥याउने गरिएको बताए । कृषक समूह र सहकारीले उत्पादन गरेको बीउ समेत सरकारी ल्याबमा परीक्षण गराएर उपयुक्त रहेको पुष्टि भएपछि विक्री गर्न सक्ने उनको भनाइ छ । ‘नेपालमा उत्पादन हुने बीउ गुणस्तरिय हुन्छ,’ उनले भने, ‘त्यही भएर पनि गहुँको भारततर्फ तस्करी भएको हुन सक्छ ।’ श्रेष्ठले गहुँ छर्ने सिजन चलिरहेका कारण नेपालबाट भारततर्फ ठूलो परिणाममा हुने तस्करी नियन्त्रण गर्न नसकेमा नेपाली कृषकका लागि भने गहुँको बीउ अभाव हुन सक्ने बताए ।

 

विराटनगर भन्सार कार्यालयका अधिकृत अशोक गुरागाईले नेपालबाट गहुँको बीउ भारततर्फ लैजानै नपाउने बताए । ‘गहुँको बीउ भारततर्फ लैजान सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ,’ उनले भने, ‘भन्सार शुल्क तिरेर पनि लैजान पाइँदैन ।’

 

भन्सार महसुल तिरेर पनि लैजान नपाउने भएका कारण तस्करीमा संलग्नले भन्सार कर्मचारी र सुरक्षाकर्मीको उपस्थिति नरहेको ठाउँबाट गहुँको बीउ भारततर्फ तस्करी गर्ने गरेको गुरागाईको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्