दसैँमा घर गएका प्रअ अझै फर्किएनन्



ओखलढुङ्गा : पात्लेस्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक तीन महिनादेखि सम्पर्कविहीन भएका छन् । दसैँ मनाउन घर गएका प्रधानाध्यापक रामदेव चौधरी अहिलेसम्म विद्यालय नआएका हुन् । 

असोजमा बिदा लिएर हिँडेका चौधरी मंसिर सकिन लाग्दासमेत विद्यालयमा नआएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए । प्रधानाध्यापक नहुँदा पठनपाठन प्रभावित भएको छ ।

‘शिक्षकको तलब निकासालगायतका आर्थिक तथा प्रशासनिक काम पनि ठप्प छन्,’ शेर्पाले भने, ‘प्रधानाध्यापक नै गैरजिम्मेवार बन्नुभयो, असोजमा घर जानुभएको अहिलेसम्म आउनुभएन ।’ प्रअ चौधरीले पढाउने विषय अन्य शिक्षकले पढाउन थालेका छन् । प्रधानाध्यापक नहुँदा विद्यालयको लेखापरीक्षणसमेत हुन सकेको छैन ।

प्रधानाध्यापक नभए पनि विद्यालयले दोस्रो चौमासिक परीक्षा सञ्चालन गरिरहेको छ । जनता आधारभूत विद्यालयमा अहिले १ सय ५ जना विद्यार्थी अध्ययनरत छन् ।  विनाजानकारी सम्पर्कविहीन भएका प्रधानाध्यापक चौधरीलाई विद्यालय व्यवस्थापन समितिले एक साताभित्र विद्यालयमा उपस्थित हुन पत्र लेखेको छ । 

एक साताभित्र विद्यालयमा हाजिर नभए प्रअलाई कानुनी कारबाहीका लागि सिफारिस गरिने अध्यक्ष शेर्पाले बताए । स्रोतव्यक्ति एकराज कटुवाललाई विद्यालयले प्रअ सम्पर्कविहीन भएको जानकारी गराएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्