नेपाली नागरिकता लिने तीन भारतीय जेल चलान



भारतीय नागरिक सन्तोशकुमार साहका साथबाट बरामद नेपाली नागरिकता र उनले प्राप्त गरेको भारतीय परिचयपत्र ।

विराटनगर : नेपाली नागरिकताको प्रमाणपत्र लिने एकै परिवारका तीन भारतीय नागरिकलाई जिल्ला अदालत मोरङले कैद र जरिवाना सुनाएको छ ।

 

न्यायाधीश दीपक खनालको इजलासले भारत अररिया जोगबनी नगर पञ्चायत वडा १० का सन्तोसकुमार साह, उनका भाइ नरेशकुमार साह र नरेशकी पत्नी रिंकीदेवी साहलाई जहनी दुई वर्ष कैद र ७५ हजार रुपैयाँका दरले जरिवानाको फैसला सुनाएको हो ।

 

सन्तोस भारतीय नागरिक गजेन्द्र साहका जेठो र नरेश माइलो छोरा एवं रिंकीदेवी माइली बुहारी हुन् । गजेन्द्रको भने मृत्यु भइसकेको छ । गजेन्द्रकी पत्नी पार्वतीदेवी र कान्छा छोरा धीरेन्द्रकुमारले समेत नेपाली नागरिकता लिएको कुरा अनुसन्धानका क्रममा खुलेको थियो ।

 

भारतीय नागरिक भए पनि उनीहरूले झूटा विवरण पेस गरेर नेपाली नागरिकता लिएको ठहर अदालतले गरेको छ । कैद सुनाइएकामध्ये सन्तोष मात्रै पक्राउ परेका छन् । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको छ ।

 

उनका साथबाट प्रहरीले भारतीय नागरिक रहेको प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र एवं मतदाता परिचयपत्र फेला परेको थियो । नरेश र रिंकीदेवी फरार प्रतिवादीको सूचीमा छन् । नरेश विराटनगर आसपासमै रहे पनि पक्राउ गरिएको छैन । 

किर्ते, जालसाजी लिखत प्रमाण खडा गर्दै पेस गरेर नेपाली नागरिकता लिएको खुलेपछि सन्तोषलाई गत चैत २ गते पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

 

सन्तोष पक्राउ परेपछि उनका भाइ नरेश र बुहारी रिंकीदेवीलगायत परिवारका सबैले नेपाली नागरिकता लिएको खुलेको थियो । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि गत चैत २६ गते नै जिल्ला सरकारी वकिल कार्यालय मोरङले तीन जनालाई मात्रै प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । 

जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार तीनै जनाले लिएको नेपाली नागरिकताको प्रमाणपत्र भने रद्द गर्ने आदेश अदालतबाट भएको छ । फरार रहेका नरेशकुमार र रिंकीदेवीलाई पक्राउ गर्न अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसके पनि उनीहरू भने पक्राउ नपरेको बताए । 

सन्तोष र उनका भाइ नरेशले एकै दिन ०६४ जेठ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट जन्मका आधारमा ९१ र ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको पत्ता लागेको छ ।

 

दुवैको जनाको नागरिकतामा जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालीन प्रशासकीय अधिकृत पर्वप्रसाद सापकोटाको हस्ताक्षर छ । नागरिकतामा बुवाको नाम स्वर्गीय गजेन्द्र साह उल्लेख छ । 

 

दुवैको जनाको नागरिकतामा जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालीन प्रशासकीय अधिकृत पर्वप्रसाद सापकोटाको हस्ताक्षर छ । नागरिकतामा बुवाको नाम स्वर्गीय गजेन्द्र साह उल्लेख छ । 

नेपाली नागरिकता प्राप्त गरेका सन्तोषले त्यसको १५ वर्षअघि सन् २००३ साल जनावरी २ मा भारत अररियाको फारवेसगन्ज इन्द्रनगर ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र प्राप्त गरेको प्रमाण फेला परेको छ ।

 

जी वाई क्यू ११५१९७६ नम्बरको भारतीय परिचयपत्रमा बुवाको नाम गजेन्द्र साह नै उल्लेख छ । सन्तोषका भाइ नरेशको ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचयपत्र छ ।

 

नरेशकी पत्नी रिंकीदेवीले १६६८९७७९ नम्बरको नेपाली मतदाता परिचयपत्र र १४२५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको फेला परेको छ । रिंकीदेवीको नाममा सन् २०१० जुन १५ मा जारी भएको टीएफएस ०७७१३५२ नम्बरको भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र फेला परेको छ । 

भारतीयका परिवारैले नेपाली नागरिकता लिएको पुष्टि भए पनि तीन जनालाई मात्रै प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो । सन्तोषका कान्छा भाइ धीरेन्द्रका नाममा १८९६४८६४ नम्बरको नेपाली मतदाता परिचयपत्र जारी भएको रेकर्ड छ ।

 

आमा पार्वतीदेवीको नाममा जारी भएको टीएफएस ०१५१२९० नम्बरको भारतीय मतदाता परिचय पत्र प्रहरीले फेला पारेको छ । प्रहरीको अनुसन्धानबाट पार्वतीदेवीले नेपालबाटै विधवा भत्ता लिने, नेपालमै मतदान गर्न जाने, बिजुलीको बिल उनकै नामबाट भुक्तानी हुनेलगायत काम गर्ने गरेको खुलेपछि उनको पनि नेपाली नागरिकता रहेको पुष्टि भएको थियो ।

 

नेपाली नागरिकता लिएपछि नरेश, पत्नी रिंकीदेवी र कान्छा भाइ धीरेन्द्र काठमाडौंको कोटेश्वरमा केही वर्षदेखि मोटरसाइकल ग्यारेज चलाएर बसिरहेको पत्ता लागेको थियो ।

 

नेपाली नगरिकता लिएपछि साह परिवार विराटनगर महानगरपालिका १६ (साविकको विराटनगर उपमहानगरपालिका २०) दरैयामा बसोबास गर्दै आएका प्रहरीले पत्ता लगाएको छ । नेपालमै जग्गा जमिन किनेर बसोबास गर्दै व्यापार व्यवसायसमेत सञ्चालन गरिरहेको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्