जब चिडियाघर भित्रै ४ वटा हरिणलाई कुकुरले मारेर खाएपछि…



मेचीनगर : पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् । मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महिनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठ्न थालेको छ । एकैपटक यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण, वन्यजन्तु संरक्षणमा लागेका संस्था, सञ्चार माध्यम र सरकार सबैको ध्यान गम्भीर रुपमा तानिएको छ ।

जिल्ला वन कार्यालयबाट दुई वर्षअघि मात्र पर्यापर्यटनका लागि वन्यजन्तु पाल्ने इजाजत लिएको बाँसबारी सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशीले जनावरको लालनपालन, उपचार र रुचिकर आहारका बारेमा उचित जानकारी नभएका कारण पालिएका वन्यजन्तु मर्ने गरेको जानकारी दिए । उनले आफ्नो सामुदायिक वनले सञ्चालन गरेको चिडियाघरमा पालिएका अजिङ्गर र निगाले बाघको बच्चासमेत मरेको बताए ।

गाउँलेले भेट्टाएका वन्यजन्तु वन कार्यालयलाई बुझाउने र वन कार्यालयले संरक्षणका लागि सामुदायिक वनहरुलाई जिम्मा लगाउने गर्दै आएका छन् । घाइते अवस्थामा उद्धार गरिएका वन्यजन्तुसमेत सामुदायिक वनमै राख्ने गरिएको छ । झापा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीका अनुसार बाँसबारी, थोप्लेविरान, आदर्श र जुकेखाडी सामुदायिक वनले पर्यापर्यटनका नाममा वन्यजन्तु पाल्दै आएका छन् । त्यहाँका वनमा हरिण, हाडखोर, गिद्ध, बँदेल, खरायो, लाटकोसेरा, ढेडु बाँदर, बँदेल, भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन वन्यजन्तु र पक्षी पालिएका छन् ।

सामुदायिक वनहरुले पालेका वन्यजन्तु उचित संरक्षणको अभावमा मरेका घटना गुपचुप हुने गरेका छन् । झापामा विगत पाँच वर्षमा १५ भन्दा बढी अजिङ्गर नै सामुदायिक वनको मिनी चिडियाखानामा मरिसकेको अनुमान छ, तर यसको आधिकारिक तथ्याङ्क कुनै निकायले राखेको पाइँदैन । कालिका सामुदायिक वनले डेढ वर्षअघिदेखि वन्यजन्तु पाल्न सुरु गरेको हो । चारआली पशु सेवा केन्द्रबाट प्राविधिक बोलाएर कर्मचारीलाई वन्यजन्तु स्याहारसम्बन्धी तालीम दिन थालिएको उक्त सामुदायिक वनका अध्यक्ष योगेश भट्टराईले बताउनुभयो ।

महीनामा रु २३ हजार वन्यजन्तुको आहारमा खर्च गर्दै आए पनि उचित आहारको अभावमा वनमा पालिएकामध्ये एउटा हरिण, दुई अजिङ्गर र केही बँदेल मरिसकेका छन् । जिल्लामा सबैभन्दा बढी वन्यजन्तु पाल्ने सामुदायिक वन कन्काइको जामुनखाडी हो । रासस

प्रतिक्रिया दिनुहोस्