कीर्ते नागरिकता : सहायक सिडिओसहित ८ विरुद्ध मुद्धा



पाँचथर: जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका देवेन्द्र शिवाको नाममा जारी भएको कीर्ते नागरिकता प्रकरणमा प्रहरीले आठ जनालाई विपक्षी बनाई जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीले विपक्षी बनाएका प्रतिवादीहरुमध्ये पाँच जना सरकारी कर्मचारी रहेका छन् ।

 

प्रहरीले जिल्ला प्रशासन कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, नागरिकता फाँटका कर्मचारी प्रकाश अधिकारी र राजकुमार न्यौपाने, तत्कालीन इम्बुङ गाविसका सचिव सुरेश सुवेदी र प्रकाश ताम्ली रहेका छन् । त्यस्तै कीर्ते नागरिकता बनाउने देवेन्द्र शिवा र गौरव नेम्बाङ नामको किर्ते नागरिकतामा बाबु बनेर सनाखत गर्ने दुर्गाभक्त नेम्बाङलाई प्रहरीले प्रतिवादी बनाएको हो ।

 

शिवाले अन्तिमपल्ट २०७२ सालमा जात र थर नै फरक पर्ने गरी ‘गौरव नेम्बाङ’ नाममा नागरिकता लिएको खुलेको छ । सोही प्रकरणमा नागरिकता ऐन अन्तर्गत हदैसम्मको कारबाहीको माग गरेर मुद्दा दर्ता गराएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

 

नागरिकता सिफारिस गर्ने तत्कालीन गाविस सचिव, कागजात बढाउने प्रशासनको नागरिकता फाँटका कर्मचारी र नागरिकतामा हस्ताक्षर गर्ने तत्कालीन सहायक प्रजिअसम्मको सेटिङमा नागरिकता कीर्ते गरिएको बुझिएको छ । विपक्षी बनाइएकामध्ये शिवा र दुर्गाभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका शिवाबारे शंका लागेपछि प्रहरीले घरमा छापा मार्ने क्रममा कीर्ते नागरिकता बनाएको रहस्य समेत खुलेको हो । हाल उनी पूर्पक्षका लागि पाँचथर कारागारमा छन् ।

 

अभियुक्त शिवाले २०६३ सालमै अंकित शिवाको नाममा समेत नागरिकता लिइएको प्रहरीले जनाएको छ । उनको जम्मा तीन वटा नागरिकता भेटिएको प्रहरी नायव उपरिक्षक कुँवरले बताए । अंकित शिवा नाममा भेटिएको उनको नागरिकता रद्ध गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखिसकेको प्रहरीले जनाएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्