पानी अभावले काकाकुल मात्रै बनाएन बासै उठायो



पाँचथर : पानीलाई जीवनको सहारा मानिन्छ। पानी छ र न त हरियाली छ। मनमोहक प्रकृतिको रनवन छ र न त्यहीँ रमाउन पाएका छन् मान्छेसहितका जीवात्माहरू । तर पाँचथर जिल्लाको यासोक कुम्मायक गाउँपालिकाको रानीगाउँ र स्याबरुम्बा उल्लिखित कथनको अपवाद बनेको छ। प्रकृतिले नै ठगेको यसलाई। पानीबिनाको माछीजस्तो भएका छन् यहाँका बासिन्दा ।

 

पानी नहुँदा काकाकुल मात्र भएका छैनन्, बस्ती नै उजाड उजाड हुँदै छ। पानी अभावमा अधिकांश मानिसहरूको बासै उठेको छ । कुवाहरू सुकेकाले ताला लागेको छ। घर, विद्यालयमा चर्पी छ तर प्रयोगहीन भएका छन्, होटलमा बास पाइन्छ नुहाउन–धुन पाइँदैन । त्यसो त रानीगाउँ र स्याबरुम्बामा पानी अभाव भएको अहिले मात्र होइन। ५/६ वर्ष अघिदेखिकै समस्या हो। जसको अभावमा बर्सेनी मानिसहरू बसाइँ सर्दै आएका छन् । यस वर्ष मात्र चन्द्रबहादुर भण्डारी, लक्ष्मी भण्डारी, दुर्गा भण्डारी, खड्गबहादुर विक, टेकबहादुर नेपाली र हर्कबहादुर नेपाली बसाइँ सरेको कुम्मायक–५ का अगुवा दुर्गाप्रसाद बम्जनले बताए ।

 

‘पानीको सबैजसो स्रोत सुक्यो, तमोर लिफ्ट खानेपानी आयोजनाको आशा पनि हरायो, बसाइँ जानेको संख्या झन् बढ्ने सम्भावना छ, उनको चिन्ता छ । विकल्पका रूपमा एकघण्टा हिँडेर पानी लिन गए पनि पर्खेर आउँदा जुलुम हुने स्थानीयको पीडा छ । बिहान ४ बजे गएको व्यक्ति ८ नबजी फर्कंदैन। रानीगाउँ–७ का शिक्षक बलराम फुयाँल भन्नुहुन्छ– ‘गुजारा चलाउन गाह्रो परेपछि हाम्रो वडाबाट मात्रै २२ परिवारले गाउँ छाडिसके।’२०७४ सालभरिमा रानीगाउँ र स्याबरुम्बाबाट वडा नं। १ का १ सय ४९, नं। २ का ५३, ३ का ५९, ४ का ६८ र वडा नं  ५ का १ सय ७ गरी ४ सय ३६ घरपरिवारले बसाइ छाडेका समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्