सार्वजनिक शौचालय निर्माण गर्न आग्रह



काठमाडौं : काठमाडौँ महानगरपालिकाभित्र प्रविधियुक्त सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गरिएको छ । गैरसरकारी संस्था गुथीद्वारा सातौँ विश्व शौचालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वक्ताले काठमाडौँमा सार्वजनिक शौचालय निर्माण कार्य तत्काल थाल्न आग्रह गरेका हुन् ।

सङ्घीय संसद् सदस्य जीवनराम श्रेष्ठले शौचालयको समस्या समाधान भयो भने सहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने भन्दै निर्माणको काम थाल्न सुझाव दिए। यस विषयमा कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको जानकारी गराए।

कामपाको सहरी योजना आयोगले, सहरमा निर्माण गरिने सार्वजनिक शौचालयको ढाँचा तयार पारेको जानकारी गराएको छ । राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्यसचिव देवेन्द्र झाका अनुसार अहिले पनि नेपालमा सरसफाइको अभावमा ५ वर्षमुनिका औसतमा दैनिक चारजना अर्थात् वार्षिक करिब एक हजार ४०० बालबालिकाको मृत्यु भइरहेको बताए।

पूर्वमन्त्री गणेश साहले पूर्वाधार निर्माण र सचेतनामूलक कार्यक्रमसँगसँगै लैजानुपर्ने आवश्यकता देखाए। हाल कामपाका ५८ वटा सार्वजनिक शौचालय छन् । जसमा २८ वटा मात्रै प्रयोग गर्न मिल्ने अवस्थामा रहेको छ भने अन्य प्रयोग गर्न मिल्दैन ।

शौचालयमा पनि साबुन, पानीको सरसफाइ समस्या रहेको छ ।कामपाले विगत तीन वर्षदेखि शौचालय निर्माण गर्ने जनाए पनि हालसम्म काम शुरु हुन सकेको छैन । – रासस

प्रतिक्रिया दिनुहोस्