झोले चिकित्सकको भरपर्दा दुई युवाले गुमाए ज्यान



नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’माथि भर पर्दा दुई जनाले ज्यान गुमाउनुपरेको छ ।

उपचारका लागि ‘झोले चिकित्सक’माथि भर पर्दा नरैनापुुर–५ मटेहियाका दुई युवकले सोमबार ज्यान गुमाउनुपरेको हो । ज्यान गुमाउनेमा सोही ठाउँका २८ वर्षीय गयाराम धोबी र उनका साला राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २१ वर्षीय मालिकराम धोबी रहेका छन् ।

गयारामको छोराको मुण्डन (कपाल काट्ने) संस्कार कार्यक्रममा सहभागी हुन गत शुक्रबार मालिकराम आफ्नो घरमा आएको मृतक गयारामका बाबु रामसमुझ धोबीले बताए । आइतबार साँझ स्थानीय खाजा पसलमा खाजा खाएर घरमा आई रातिको खाना खाएर सुतेको अवस्थामा एक्कासि पेट दुखेपछि गाउँमा औषधि पसल सञ्चालन गर्दै आएका भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँमा बस्दै आएका ‘झोले चिकित्सक’ राजेशसिंह ठाकुरले दुवै जनाको उपचार गरेको उनले बताए । गयाराम र मालिकरामले खाना खाएपछि बान्ता भएको र उपचारका लागि आएका ‘झोले चिकित्सक’ ठाकुरले बिरामीको रोग पहिचान नगरी अनुमानका आधारमा औषधि सेवन गर्न लगाएपछि दुवैको मृत्यु भएको थियो ।

उपचारका क्रममा तीन बोतल स्लाइन चढाउँदै गर्दा मालिकरामको घरमै मृत्यु भएको थियो भने गयारामको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

करिब २५ वर्षदेखि गाउँमा अवैध रूपमा उपचार गरेर क्लिनिक सञ्चालन गर्दै आएका ठाकुरले उपचार गर्दा यसअघि पनि धेरैले ज्यान गुमाउनुपरेको स्थानीय मयाराम धोबीले बताए । उनले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको बुझिएको छ । घटनापछि ठाकुर फरार छन् ।

राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले गाउँमा डाक्टरको नामले चिनिँदै आएका ठाकुरले उपचार गर्दा धोबी सालाभिनाको ज्यान गएको बताए । ठाकुरले उपचार गर्न पाउने नपाउने योग्यता भए नभएको कसैलाई जानकारी नभएको बताउँदै उनले पेट दुख्नेबित्तिकै स्लाइन चढाउँदै गर्दा ज्यान गएपछि ठाकुर बेपत्ता भएको बताए ।

नरैनापुर–५ का वडाध्यक्षसमेत रहेका स्थानीय युवराज मौर्यले वडामा स्वास्थ्यकर्मीको अभाव रहेका कारण स्थानीय उपचारको लागि झोले चिकित्सककै भरपर्ने गरेको बताए । उनले भने, ‘गाउँमा स्वास्थ्य केन्द्र छ तर स्वास्थ्यकर्मी कार्यालय समयमा मात्र उपलब्ध हुन्छन्, अरूबेला हुँदैनन् अनि यस्तै झोले चिकित्सको भर पर्नुपरेको छ ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्