केरुङ–काठमाडौं रेलमार्ग : विस्तृत सम्भाव्यता अध्ययन छिट्टै



काठमाडौँ : नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू)लाई मूर्त रूप दिन सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार बसेको नेपाल र चीनका पदाधिकारीहरूको संयुक्त बैठकले यो सहमति गरेको हो । सो रेलमार्ग निर्माणका लागि छिट्टै विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभयो । सो बैठकका लागि उच्चस्तरीय चिनियाँ टोली सोमबार काठमाडौँ आइपुगेको हो ।

उहाँले भन्नुभयो, “आजको बैठकमा प्रस्तावित सो रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन कसरी अगाडि बढाउने र त्यस क्रममा नेपाली र चिनियाँ पक्षको दायित्व र जिम्मेवारी के के हुन्, ती विषय निक्र्योल गरी सहमति ग-यौँ । हामीले यस कार्यका लागि ‘माइन्युट’ गरिसक्यौँ, अब हाम्रो काम सुरु हुन्छ ।”

दुवै पक्षले हस्ताक्षर गरेको सो सहमतिमा विस्तृत सम्भाव्यता अध्ययनका क्रममा चिनियाँ पक्षले गर्नुपर्ने काम उल्लेख गर्नुका साथै नेपाली पक्षले गर्नुपर्ने सुरक्षाको व्यवस्था, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का बारेमा उल्लेख गरिएको जानकारीसमेत सचिव कार्कीले दिनुभयो ।

“अब ‘एरियल म्यापिङ’को काम सुरु गर्नुका साथै भौगर्भिक अध्ययन थाल्ने प्रतिबद्धता चिनियाँ पक्षले गरेको छ”, सचिव कार्कीले थप्नुभयो, “अब काम छिट्टै नै सुरु हुन्छ, यसका लागि एउटा कामको समयतालिका बन्छ र त्यसअनुसार हामी काम गर्छांै । ” केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसेकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्