तेह्रौँ साग : दशरथ रंगशालामा भव्य समारोहबीच समापन



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)को मंगलबार साँझ औपचारिक समापन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंसिर १५ गतेबाट सुरु भएको सागको समापन विभिन्न कार्यक्रमकाबीच समापन गरिएको हो ।

समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिँदै दक्षिण एशियाली मुलुकहरूको मिनी ओलम्पिक खेलकूद प्रतियोगिताका रूपमा रहेको सागले यस क्षेत्रका जनतामा एकता, मित्रता अभिवृद्धि गर्ने कार्यमा अत्यन्तै सफलता हासिल गरेको बताए ।

प्रतियोगिताको सफल आयोजना र उत्कृष्ट खेलका निम्ति आयोजक र खेलाडीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रतियोगिताको समापनको सुखद सफलताका लागि योगदान गर्ने सरकार र खेलक्षेत्र सबैलाई धन्यवाद व्यक्त गरे ।

भुटान र नेपालको खेल सकिएपछि खेलाडीको मार्चपास गरिएको थियो भने मार्चपासपछि १४ औं संस्करणको लागि पाकिस्तानलाई आयोजकको झण्डा हस्तान्तरण गरियो ।

व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

समापन समारोहमा अन्य कार्यक्रमहरुमा सांस्कृतिक कार्यक्रम, विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड, सराय नाचको विशेष प्रस्तुति, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिको सम्बोधन गरेका थिए ।

साग खेलकुदका लागि करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको थियो । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवका रूपमा लिने गरिन्छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्