राष्ट्रपतिलाई उनी पढेको क्याम्पसले अभिनन्दन गर्ने



विराटनगर : राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित उनी पढेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गर्ने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा सहभागी हुन भण्डारी विराटनगर आउने तय भएसँगै उनी पढेको क्याम्पसले पनि अभिनन्दन गर्ने भएको हो । 

बिहीबार एक समारोहकाबीच पूर्व विद्यार्थीको हैसियतमा भण्डारीलाई सम्मान गर्न लागिएको क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले बताए । राष्ट्रपति भण्डारीले २०३९ देखि २०४१ सालसम्म सो क्याम्पसमा मानविकी संकाय अन्तर्गत स्नातक तहको अध्यन गरेकी थिइन । 

अध्ययनकै क्रममा २०४० सालमा उनी सो क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन ।  

त्यसक्रममा राष्ट्रपति भण्डारीले उक्त क्याम्पसको अवलोकन भ्रमण गर्नुका साथै क्याम्पसका समस्याहरूलाई समेटेर तयार पारिएको वृत्तचित्र हेर्नेछिन् ।

यसैबीच मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको गोठगाउँमा सार्नु पर्ने माग गरेका छन् । केन्द्रीय कार्यालय राख्न गोठगाउँमा संरचना बनिसक्दासमेत विश्वविद्यालय भने विराटनगरबाटै सञ्चालित छ । 

नगरप्रमुख शिव ढकालले सबै क्षेत्र, समुदाय र विश्व विद्यालयका केही सिनेटरसमेतको सहभागितामा केन्द्रीय कार्यालय सार्न सङ्घर्ष सुरु गर्ने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्