भ्रषण वर्ष सफल बनाउन फोटो पत्रकारको महत्वपूर्ण भूमिका –मुख्यमन्त्री राई



काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिलाई सफल बनाउन फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

नेपाल फोटो पत्रकार महासङ्घको प्रथम महाधिवेशनको आज क्यामराबाट फोटो खिचेर उद्घाटन गर्दै उनले नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय, धार्मिक, प्राकृतिक, हिमाली क्षेत्रको प्रचारप्रसार विश्व छिमकी तथा विश्वसामु गरी समृद्ध नेपाल बनाउन सार्थक भूमिका खेल्न आग्रह गरे।

मुख्यमन्त्री राईले फोटो पत्रकारले देशलाई सही बाटोमा ल्याउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको स्मरण गर्दै संविधानले सबै वर्गको हकअधिकार र पेशाको सुरक्षाको प्रभावकारी कार्यान्वयनको सुनिश्चित गरेको बताए।

उनले मुलुकको व्यापारघाटा न्यूनीकरणका लागि चियाको गुणस्तर कायम गरी निर्यातका लागि इलाममा चिया विकास कार्यालय स्थापना गरिएको जानकारी दिँदै बङ्गलादेशसँग कृषि उत्पादन निर्यातका लागि महत्वपूर्ण व्यापारिक छलफलका लागि आज राजदूत तथा अधिकारीसँग छफलफल कार्यक्रम राखिएको छ भने। मुख्यमन्त्री राईले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रचारका लागि फोटो पत्रकारलाई भ्रमणमा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले मन्त्री तथा नेताको कमीकमजोरी तथ्यसहित समाचार सम्प्रेषण गरेमा मुलुकमा सुशासन कायम हुने बताए। उनले प्रदेश सरकार पत्रकारको सुरक्षाप्रति चिन्तित रहेको छ भन्दै सरकारले कार्यविधि बनाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक पत्रकारको जीवनयापनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए। –रासस

प्रतिक्रिया दिनुहोस्