प्रतिबन्ध फुकुवापछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता



विराटनगर : नेपाल आयल निगमको प्रदेश १ कार्यालय मातहतमा रहने गरी सञ्चालन गरिएका १३ वटा पेट्रोलियम ट्याङ्करमाथिको तीन महिने प्रतिबन्ध फुकुवा गरिएको छ । 

आइतबार निगम र व्यवसायीबीच काठमाडौंमा भएको वार्तामा ट्याङ्करमाथिको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको हो । यो सँगै पेट्रोलियम व्यवसायीको आन्दोलन पनि फिर्ता भएको छ । प्रतिबन्धकै विषयलाई लिएर सोमबारबाट पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए । 

गत मङ्सिर ६ गते भारतको बरौनी डिपोबाट लोड गरी ट्याङकरबाट दुई हजार चार सय ८४ लिटर डिजेल चोरी भएपछि छानबिनका लागि नेपाल आयल निगमले समिति गठन गरेको थियो । 

सो समितिको प्रतिवेदनका आधारमा डिजेल चोरीमा मुछिएको व्यवसायी सुकदेव सिंहले सञ्चालन गरिरहेको एउटा ट्याङ्करको ढुवानी इजाजत खारेज गर्दै अन्य १३ वटा ट्याङ्करलाई तीन महिना सम्म रोक लगाएपछि पेट्रोलियम व्यवसायी र मजदुर आक्रोशित बनेका थिए । 

भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा बाटोबाटै चोरी हुने क्रम नरोकिएपछि नेपाल आयल निगमले सात महिना अघि ट्याङ्करमा आधुनिक लक स्टिक जडान गरेको थियो । तर तेल चुहावट रोक्न जडान गरिएको ट्याङ्करबाट इन्धन चोरी भएको थियो । 

यसैबीच भारतको बरौनी डिपोबाट लोड गरी आएको ट्याङकरबाट भएको डिजेल चोरी प्रकरणको छानबिन प्रतिवेदन गुपचुप राखिएको छ । छानबिनका क्रममा नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादवको दोष देखिएपछि प्रतिवेदन गुपचुप राखिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्