हावाबाट बिजुली झलमल



फिदिम : पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । 

 

नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उनी खुशी छिन् । उनीलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । 

 

स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासीले उज्यालोको सुविधा पाएका हुन् । 

 

सप्तमी बजारमा वायु र सौर्य प्रणालीबाट विद्युत् उत्पादन गरिएको छ । वायुबाट २० किलोवाट र सौर्य प्रणालीबाट ५० किलोवाट विद्युत् उत्पादन गरिएको हो । उत्पादित विद्युत् पुस महीनाको दोस्रो सातादेखि परीक्षण प्रशारणमा रहेको छ । 

 

पुस मसान्तसम्म परीक्षण गरी माघदेखि चौबिसैघण्टा विद्युत् प्रसारण गरिने सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिले जनाएको छ । 

 

समितिका अनुसार उत्पादित विद्युत्बाट सप्तमी बजारसहित आसपास ११० घरमा विद्युत् जडान गर्ने कार्य चलिरहेको  छ । 

 

गत वैशाखको पहिलो सातादेखि निर्माण थालेको टप्सन कृष्णग्रिल जेभीले पुस दोस्रो साता सम्पूर्ण काम सकेपछि परीक्षण थालिएको सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर आङ्देम्बेले जानकारी दिए । 

 

सो आयोजना सम्पन्न गर्न उपभोक्ताको रु २० लाख २५ हजार, मिक्लाजुङ गाउँपालिकाको रु २४ लाख ७५ हजार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोड पाँच लाखको लागतमा वायु तथा सौर्य विद्युत् ग्रेड निर्माण सम्पन्न भएको हो । 

 

उपभोक्ता समितिका अध्यक्ष आङ्देम्बेले विद्युत् प्रशारण लाइन विस्तारको काम भइरहेको जानकारी दिए । पुसको अन्तिमसम्ममा प्रसारण लाइन विस्तारको काम सक्ने गरी प्राविधिकलाई परिचालन गरिएको उनको भनाइ छ । 

 

यहाँ विद्युत् महसुल समेत नेपाल विद्युत् प्राधिकरणको महसुल दर भन्दा केही सस्तो हुने र उपभोक्ताको आम भेलाबाटै सहमतिमा समितिले महसुल दर निर्धारण गर्ने अध्यक्ष आङ्देम्बेले जानकारी बताए । 

 

प्रतिक्रिया दिनुहोस्