बढी ब्याज दिन्छु भन्दै ४५ लाख ठगी गर्ने प्रहरी फन्दामा



सुनसरी : बढी ब्याज दिने प्रलोभन पारी ४५ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । गत सोमबार ईलाका प्रहरी कार्यालय ईटहरीले सोही उपमहानगरपालिका–६ स्थायीि घर भएका विरेन्द्र विश्वकर्मा (रामदाम) लाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

उनी नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबारको लागि अनुमति नलिई सुनसरीको उपमहानगरपालिका–६ मा सञ्चालन गरेको लक्ष्मी स्टोर्स (ज्वेलर्स) को नाममा पासबुक छपाई विभिन्न व्यक्तिहरुलाई बढी ब्याज दिने प्रलोभनमा रकम उठाउने कार्यमा संलग्न हुँदै आएका थिए ।

प्रहरीका अनुसार विभिन्न व्यक्तिले दिएको जाहेरीका अनुसार उनले अहिलेसम्म ४५, ०४, ००० (पैंचालिस लाख चार हजार) बराबरको नगद ठगी गरेका छन् । उनलाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले पक्राउ गर्न आदेश समेत दिएको थियो । अदालतको आदेश अनुसार प्रहरी उनको खोजीमा लागेको थियो ।

उनले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले पीडितलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्