घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ



इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ ।

आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्रधान होटलबाट रु छ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो । अभियुक्त तिवारीले सेवाग्राहीसँग प्रमाणपत्र चाहिने भए घुस दिनुपर्ने बताएको जनाइएको छ ।

आरोपी तिवारीमाथिा अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणका ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीलाई रु २५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

बिजुलीको खम्बा राखिदिने बहानामा सेवाग्राहीसँग चौधरीले रु २५ हजार घुस मागेको अभियोग लागेको छ । आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले घुस लिँदै गरेको अवस्थामा कामपा–१४ बाट उनलाई पक्राउ गरेको हो ।

आयोगले चौधरीलाई बिहीबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए। – रासस

प्रतिक्रिया दिनुहोस्