सर्वोच्चको संवैधानिक विज्ञमा डा. तिमिल्सिना नियुक्त



काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा डा. रामकृष्ण तिमिल्सिनालाई नियुक्त गरेका छन्। तिमिल्सिना सर्वोच्चकै पूर्वरजिष्ट्रार हुन्। 

संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा संवैधानिक इजलासमा विज्ञ नियुक्तिको व्यवस्था छ। सोही व्यवस्था अनुसार प्रधानन्यायाधीश राणाले आवश्यक अध्ययन अनुसन्धान राय र परामर्शका लागि तिमिल्सिनालाई नियुक्त गरेका हुन्। तिमिल्सिनाले आफूलाई माघ १ गतेबाट लागू हुनेगरी नियुक्त गरिएको जानकारी दिए। 

नेपालको संविधान २०७२ ले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठनको व्यवस्था गरेको छ। संविधान र कानुनविद् मध्येबाट डा. तिमिल्सिना पहिलोपल्ट संवैधानिक इजलास विज्ञको रुपमा नियुक्त भएका हुन्। 

तिमिल्सिनाले आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने बताएका छन्।‘मेरो काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ। मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म संवैधानिक इजलासलाई रचनात्मक सहयोग पुर्याउने छु’, उनले भने, ‘संवैधानिक इजलासको प्रभावकारिता बढाउन र न्यायमा छिटो पहुँचका लागि इमान्दारिपूर्वक काम गर्नेछु।’ 

डा. तिमिल्सिनाले सूचनाको हकमा विद्यावारिधी गरेका हुन्। सर्वोच्चको रजिष्ट्रारबाट अवकाश पाएका तिमिल्सिना नेशनल ल कलेजका संस्थापक सञ्चालकसमेत हुन्। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्