हेल्मेटभित्र लुकाएर लागुऔषध कारोबार !



विराटनगर:  हेल्मेटभित्र लुकाएर लागुऔषध कारोबार गर्ने एक ब्यक्तिलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१२ बाट सुनसरी धरान उपमहानगरपलिका–१५ का ४५ वर्षीय दीप बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ३ सय ८४ ट्याब्लेट स्पास्मो प्रोक्सिवन र २ बोतल डाइलक्स डिसी बरामद भएको छ।

को ३ प ८७४१ नम्बरको मोटरसाइकलमा रहेका बस्नेतलाई सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको सीमा प्रहरी चौकी रानीले जनाएको छ। उनले हेल्मेटभित्र लागुऔषध लुकाएका थिए। बस्नेतको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यसअघि शुक्रबार मात्रै प्रहरीले भारतको अररियास्थित बेलाग्राम पञ्चायत–९ का २० वर्षीय सहादत मन्सुरी र १८ वर्षीय रिजवन अन्सारीलाई १५ बोतल डाइलक्स डिसी र २ सय ८८ ट्याब्लेट स्पास्मो प्रोक्सिवनसहित धरान उपमहानगरपालिका–४ सर्दु खोलाबाट पक्राउ गरेको थियो।

लागुऔषध ओसारपसारमा उनीहरुले प्रयोग गरेको को २० प ८०९८ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्