विद्यालय हो कि गोठ ?



जनकपुरधाम : यो भवन एउटा सामुदायिक विद्यालयको हो । यस विद्यालयमा कक्षाकोठाहरु पनि थुप्रै छन् तर यहाँ विद्यार्थी भने चौरमा बस्छन् र गाईभैंसीहरु कक्षाकोठामा ।

त्यतिमात्र कहाँ हो र १ यहाँ त गाउँमा कसैको विवाह,मुण्डन लगायतका कार्यहरु भए भोजभतेर पनि विद्यालयकै प्रांगनमा हुन्छ । जन्तीको बास पनि विद्यालयमै हुन्छ । भोज पकाउने भाँडाकुँडा थन्क्याउने ठाउँ पनि यस विद्यालयको कक्षाकोठाहरु नै हो । नपत्याए यो तस्विर हेर्नुस त ।

यस विद्यालयमा विद्यार्थीलाई बस्नका लागि डेस्क बेन्च छैन् । गर्मी मौसम होस या जाडो,सबै विद्यार्थी बोरा ओच्छ्याएर प्रांगनमा पढ्छन् यहाँ ।

यो दृश्य कक्षा एकदेखि कक्षा पाँचसम्म पढाइ हुने धनुषाको नगराईन नगरपालिका वडा नम्बर–२ राघोपुरस्थित श्री राघोबाबा प्राथमिक विद्यालयको हो ।

यस विद्यालयका कक्षाकोठाहरु गाईभैंसी र बाख्रा बाँध्ने ठाउँको रुपमा प्रयोग हुँदै आईरहेको छ । झट्ट हेर्दा गोठ हो कि विद्यालय छुट्ट्याउनै गाह्रो पर्छ । विद्यालयको नाममा एक धुर पनि जग्गा छैन् । विद्यालय खुलेको ३५ वर्ष बितिसकेको छ । एउटा टेबल र चार थान कुर्सी मात्रै छ विद्यालयको सम्पत्ति ।

विद्यार्थीले बोरा ओछ्याएर १२ महिनै भुइँमा बसेर पढ्नुपर्छ । विद्यालयमा पर्याप्त शैक्षिक सामग्री पनि उपलब्ध छैन् । विद्यालयको रजिष्टरमा २ सय १७ जना बालबालिका छन् । तर पढ्न भने ३० देखि ४० जनासम्म मात्रै आउँछन्,शिक्षिका रञ्जु कुमारी मण्डलले भनिन् ।’

आधारभूत शिक्षा परियोजनाले विद्यालयका लागि डेस्क बेन्च उपलब्ध गराएको थियो तर सबै भाँचिसके । सबै गोदाममा राखिएको छ । २ बर्षदेखि नगरपालिकासँग माग गरिरहेको छु तर अहिलेसम्म उपलब्ध भएन,‘विद्यालयका प्रधानाध्यापक रत्नेश्वर लाल कर्णले बताए ।’ उनले भने,‘विद्यालयको कक्षाकोठाहरुमा केहि गाउँकै व्यक्तिहरुले जर्बजस्ती गाईभैंसी बाँध्छन् ।’

विद्यालय व्यवस्थापन समिति,गाउँले तथा स्थानीय जनप्रतिनिधि कसैलाई पनि यस विद्यालयप्रति कुनै चासो छैन् । शिक्षा विकास तथा समन्वय ईकाइ समितिले समेत यस विद्यालयको स्तरोन्नतीप्रति कुनै चासो नदेखाएको उनले बताए ।

विद्यालयमा प्रधानाध्यापक रत्नेश्वर लाल कर्ण,सहायक प्रधानाध्यापक रामचन्द्र मण्डल,रञ्जु कुमारी मण्डल र अमोद कुमार राम गरी चारजना शिक्षक कार्यरत छन् ।

सरकारले यस विद्यालयका शिक्षकहरुको तलबमा मासिक १ लाख १७ हजार रुपैयाँ खर्च गर्छ तर पाँच कक्षामा पढ्ने अधिकांश बालबालिकाहरुलाई आफ्नो र आफु अध्ययनरत विद्यालयको नाम पनि लेख्न आउँदैन ।

विद्यालय गएर पनि छोराछोरीले आफ्नै नाम लेख्न नजानेपछि हामी आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउन बाध्य भएका छौं,स्थानीय कञ्चन मण्डलले बताए ।’ उनले भने,‘शिक्षकहरु पढाई भन्दा बढि राजनीति गर्छन् भने शैक्षिक अबस्था कसरी सुधार हुन्छ ?’

यता यस सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसोगारथ मण्डलसँग बुझ्न खोज्दा उनले भने,‘विद्यालयको यस्तो दुराअवस्था किन छ त्यो मलाई के थाहा ? म दैनिक हाजिरी दिन जानु र त्यहाँ ? मलाई आफ्नो व्यक्तिगत कुनै काम छैन् ?’

स्थानीय सरकारले सार्वजनिक शिक्षा सुधारका लागि जोडतोडका साथ काम गर्ने जनाउँदै आएपनि पुर्णता पाएको साढे दुई बर्षसम्ममा पनि देखिनेगरी भने केही काम नभएको पूर्व प्राध्यापक परमेश्वर कापडीले बताए । यसमा सुधारका लागि स्थानीय सरकार थप जागरुक हुनु अहिलेको आवश्यकता देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्