मन्त्रीहरु मौखिक अख्तियारीको भरमा काम गर्नु प्रदेशका लागि दुर्भाग्य : मुख्यमन्त्री राउत



काठमाडौं : आज (मंगलबार) प्रदेश नम्बर २ को प्रदेशसभाको २ वर्ष पूरा भएको अवसरमा भव्य कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।

प्रदेशसभा प्रांगणमा आयोजित सो कार्यक्रममा प्रदेश प्रमुखदेखि मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत आक्रामक रुपमा प्रस्तुत भएका थिए । मुख्यमन्त्री राउतले मन्त्रीहरुले अख्तियारी नदिएकोमा आक्रोश व्यक्त गरे । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियारी त्यतीकै पकेटमा नराख्न मन्त्रीहरुलाई ठाडो निर्देशन दिए ।

उनले मन्त्रीहरु मौखिक अख्तियारीको भरमा काम गर्नु प्रदेशका लागि दुर्भाग्यपूर्ण रहेको बताए । उनले भने,‘मन्त्रीहरुज्यूले लिखित अख्तियारी नभई मौखिक अख्तियारीको भरमा काम गरिरहेका छन्, यसले कसैको भलो हुन नसक्ने भएकोले अख्तियारी पकेटमा लिएर नहिंडौ ।’

मन्त्रीहरु अख्तियारी गोजीमै राखेकाले उपभोक्ताहरुको भुक्तानी हुन नसकेको र यति ठूलो समस्या श्रृजित भएको उनले आरोप लगाए । सरकारमा रहेका मन्त्रीहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका मुख्यमन्त्रीले भने,‘मन्त्री र माननीयहरुकै कमी कमजोरीका कारण उपभोक्ताहरुको भुक्तानीको उब्जेको हो, मन्त्रीज्यूहरुले समयमै टेण्डर गरेको भए समस्या नै हुने थिएन ।’
उनले मन्त्रीहरुलाई यो समस्या आगामी दिनमा पनि आउन सक्ने भएकोले किन्तु, परन्तुमा नअड्की विकास निर्माणका लागि अग्रसर हुन आह्वान गरे । उनले जति पनि योजना छन् त्यसको समयमै टेण्डर गरी आ–आफ्ना जिम्मेवारी वहन गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।

यस वर्ष पनि यसमा चुक्यौँ भने कसैको भलो हुँदैन र जनता सरकारमाथि विश्वास गर्न सक्दैन भन्दै उनले भने,‘हामीमाथि संघीय सरकारले गिद्धे नजर लगाएको छ, हामी गल्ती गरौँ संघिय सरकार चाहन्छ, गल्ती नगरी ईमान्दारीपूर्वक हामी काम गर्यौँ भने संघ सरकारले हामी माथी औला ठड्याउन सक्दैन ।’

साथै मुख्यमन्त्री राउतले प्रदेश सरकारमा प्रतिपक्षीहरुले गर्दै आएको सहयोगबारे धन्यवाद दिदैं भने प्रतिपक्षी दलको भूमिका निकै सकारात्मक छ, तर हामीमै केही कमी कमजोरी रहेकाले हामीलाई कलंकित हुनुपर्ने अवस्थाको श्रृजना भएको छ, हामी सबै सचेत हुनुपर्ने आवश्यक छ ।’
समारोहमा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले हामी संघीय सरकारसँग सहकार्य गरेर अघि बढन चाहिरहे पनि संघिय सरकारले सबै अधिकार आफ्नै जिम्मा राखेर थिचोमिचो गरिरहेको आरोप लगाए ।

उनले संघ सरकारले प्रदेश सरकारको काममा सहयोग गर्नुको साटो असहयोग गरिरहेकोमा दुःख व्यक्त गरे । उनले भने,‘प्रदेश सरकारलाई असफल बनाउन संघ सरकार नै लागि परेको छ, यो पूरै देशको लागि दुर्भाग्य हो ।’ कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, नेकपाका उपनेता रामकुमार यादव लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्