धर्मपुत्रीका हत्यारालाई जन्मकैद



धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया अनुषा राईका हत्यारालाई अदालतले जन्मकैदकाे फैसला सुनाएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा बालिकाका धर्मपिता बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । 

मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो ।

 

अदालतले २२ महीनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो । अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्