सार्वजनिक कार्यक्रममै सर्वसाधारणले मेयर साहको मागे राजीनामा



जनकपुरधाम : आज (बिहीबार) जनकपुरधाममा आयोजित एक सार्वजनिक कार्यक्रममा वक्ताहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको राजिनामा माग गरेका छन् ।

जनकपुरधाममा गुठीको जग्गा अतिक्रमण हुनुमा राजनीतिक दलहरुको संरक्षण रहेको भन्दै स्थानीयवासीहरुले आक्रोश व्यक्त गरेका छन् ।

स्थानीयहरुले राजनीतिक दलका प्रतिनिधिहरु मात्र नभई सरकारी कार्यालय र जनप्रतिनिधिहरु समेतले जग्गा अतिक्रमण गरेको भन्दै आक्रोश पोखेका हुन् ।

जनकपुरधाममा सरकारी,सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगद्वारा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्थानीयहरुले जानकी मन्दिर फूलबारी जग्गा अतिक्रमणको प्रसंगको चर्चा गर्दै त्यहाँको जग्गा अतिक्रमण हुनुमा ठूलठूला नेताहरुदेखि लिएर सम्बन्धित कार्यालयका कर्मचारी तथा महन्थहरुको समेत संदग्नता रहेको आरोप लगाए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वर्षौ देखि मोटो रकम लिएर गुठीका जग्गाहरु रैतान नम्बरी हुँदै आएको भन्दै आक्रोश व्यक्त गरे । कार्यक्रममा सहभागीहरुले आम नागरिकबाट अतिक्रण भएको जग्गा सरकारले खाली गराउने,तर जिल्ला स्थित सरकारी कार्यालयहरु नै कोही लिजको नाममा,कोही बिना जानकारी अवैध तरिकाले गुठीको जग्गामा कार्यालय संचालन गर्दै आएको भन्दै त्यस्तालाई कसले कारवाही गर्ने भन्ने प्रश्न उठाएका थिए ।

कार्यक्रममा वक्ताहरुले जानकी मन्दिरको फूलबारीको जग्गा अतिक्रमणमा जनकपुरधाम उपमहानगरका प्रमुखकै संलग्नता रहेको आरोप लगाए । पटक पटक नापी हुँदा मन्दिरको जग्गा अतिक्रमण भएको प्रष्ट भइसकेको अवस्थामा स्थानीय प्रशासनले त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्न नसकेको भन्दै स्थानीयले आक्रोस पोखे ।

कार्यक्रममा युवा अभियन्ता सुशिल कर्णले ऐतिहासिक धरोहर जानकी मन्दिर बचाउन पटक पटक नापी गर्दा उपमहानगरपालिकाले आफ्नो प्रतिनिधि नपठाउने र सो टोलीले तयार पारेको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन नसक्नुमा मोटो रकमको चलखेल भएको प्रष्ट रहेको बताए ।

जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको प्रसंगमा बोल्दै कर्णले मेयर साहले पैसाको चलखेल गरेर व्यक्तिगत जग्गा बचाएको आरोप लगाए । उनले भने,‘जनकपुरधाममा यदि जानकी मन्दिर तोडेर कुनै विकास हुन्छ भने त्यो विकास हामीलाई चाहिएन । अहिलेको सन्दर्भमा जनकपुरधामको सडक चौडा होस वा न होस् तर यहाँको पत्रकारहरुको पिठयु र जनप्रतिनिधिको सम्पत्ती अवश्य चौडा भएको छ ।’

उनले अगाडी भने, ‘जसरी पूर्व सभामुख महरामाथि बलात्कारको आरोप लागेपछि राजिनामा दिनुभो त्यसरी नै मेयरलाई नैतिकताको आधारमा राजिनामा दिनु पर्छ ।’ पटक पटक नापी हुँदा मन्दिरको जग्गा अतिक्रमण भएको प्रष्ट भइसक्दा पनि स्थानीय प्रशासनले त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्न नसक्दा रकमको चलखेल भएको आरोप प्रष्ट भएको उनले बताए ।

समाजवादी पार्टीका नेता महाशंकर ठाकुरले जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा आएको नापी प्रतिवेदन कार्यान्वयन उपमहानगरपालिकाले गराउन नसक्ने र प्रतिक्रिया माग्ने जाने पत्रकारदेखि आमजनतालाई कुटपिट र दुव्र्यवहार गर्ने मेयर लालकिशोर साहलाई नौतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता झाले उपमहानगरको तर्फबाट गल्ती भएको छ भने त्यो सच्याउन हामी तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा आयोगका अध्यक्ष मोहन रमन भट्टराईले स्थानीयबाट आएका जिज्ञासाको जवाफ दिदै भने ‘सरकारी, सार्वजनिक र गुठीको जग्गा कसैले मिच्नु हुदैन, यदि मिचिएको छ भने अतिक्रमण खाली गरी संरक्षण गर्ने सबैको दायित्व हो ।’ आयोगले पुर्वका भोजराज घिमिरे आयोग र प्रो पब्लिक लगायतका विभिन्न प्रतिवेदनलाई टेकेर नयाँ तरिकाले जाँचबुझ गरी प्रतिवेदन सरकारलाई बुझाइने उनको भनाइ छ ।

‘स्थानीय जनप्रतिनिधिबाट जानकी मन्दिरको जग्गा अतिक्रमणको कुरो छ, यदि त्यो भएको छ भने स्वार्थ गलत हो, सडक विस्तारको नाममा मन्दिरको जग्गा अतिक्रमण गर्नु भनेको पापको भागीदारी बन्नु हो । यसमा स्वच्छ समिति गठन गरी छानबीन गरेर दोषीलाई कानूनको दायरमा ल्याउनुपर्छ’ अध्यक्ष भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्