गिरिजा प्रसाद कोइराला गोल्डकपको उपाधी सप्तरीलाई



वीरगन्ज : वीरगन्जमा आयोजित प्रथम प्रदेश स्तरीय गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सप्तरीले हात पारेको छ ।

वीरगन्जको आदर्शनगर रंगशालामा शनिवार भएको फाइनल खेलमा बारा जिल्लालाई २-० गोलले हराउदै सप्तरीले प्रतियोगिताको उपाधी हात पारेको हो ।

सप्तरीका लागि जर्सी नं.११ का सुदिप श्रेष्ठ र १६ का दिवस श्रेष्ठले १-१ गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुवै गोल गर्दै सप्तरीले २-० को नतीजा सहित उपाधी उचालेको हो ।

गोल्डपको उपाधीसंगै सप्तरीले नगद १ लाख ५१ हजार रुपैया पुरस्कार पाएको छ । उपविजेता बाराले भने ७५ हजार रुपैया नगद पुरस्कार पाएको छ । प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी सप्तरीका प्रवीण चौधरी, उत्कृष्ठ गोलरक्षक सप्तरीकै सिताराम चौधरी र सर्वाधीक गोलकर्ता पनि सप्तरीकै दिवस श्रेष्ठ घोषित भएका छन् ।

प्रतियोगिताको समापन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपाधी विजेता र उपविजेतालाई कप र मेडल प्रदान गरे । गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले माघ १८ गते देखि आयोजना गरेको प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए ।

फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनको अध्यक्षतामा शनिवार भएको समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता डाक्टर शोभाखर पराजुली, राजपाका महासचिव शीव पटेल , सहमहासचिव निजामुद्धिन समानी , पुर्व सांसद अनिल रुंग्टा, प्रदेशसभा सांसद राजेश्वर साह तेली, नेकपाका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, काँग्रेस नेताहरु प्रकाश उपाध्याय, रामरुप कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्