टर्की र ग्रीस पठाइदिन्छु भन्दै साढे उन्नचालिस लाख ठगी गर्ने एक जना पक्राउ



काठमाडौं : टर्की र ग्रीस पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

मोरङ जिल्ला रतुवामाई नगरपालिका–६ बुधबारे स्थायी घर भई काठमाडौं चुच्चेपाटी बस्दै आएका कमल प्रसाद पोखरेल ३९,५६,००० (उन्नचालिस लाख छप्पन्न हजार) सहित पक्राउ परेका हुन् ।

उनले टर्की र ग्रीसमा आर्कषक तलब हुने भन्दै विभिन्न प्रलोभन देखाएर ३२ जनाबाट उक्त रकम ठगी गरेका थिए । रकम ठगी गरेर अलपत्र पारी फरार भएपछि पीडित गोपी राम पराजुलीले दिएको उजुरीको आधारमा उनको खोजी गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले जानकारी दिएका छन् ।

पक्राउ परेका पोखरेलविरुद्ध थप अनुसन्धानका लागि आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्