जिल्ला अस्पताल फाप्लुलाई रु ३० लाखको उपकरण



सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुलाई रु ३० लाख बराबरको उपकरण प्राप्त भएको छ । प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश नं १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लब इन्टरनेशनलले प्रसूतिका लागि अति आवश्यकीय १२ प्रकारका उपकरण प्रदान गरेको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा लाइन्स क्लब इन्टरनेशनलका पूर्वगभर्नर अनन्त भेटवालले हिमाली जिल्ला सोलुखुम्बु विश्वकै आकर्षणको केन्द्र भएकाले सहयोग गरेको बताए । उनले पर्यटनको आकर्षणको केन्द्र सोलुखुम्बुलाई हरेक सेवासुविधाको हिसाबले अब्बल बनाउनु आजको आवश्यकता भएको बताए ।

सो अवसरमा फाप्लु अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले लाइन्स क्लबको सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास व्यक्त गरे । उनले हिमाली जिल्ला दुर्गम जिल्लामै पर्ने भएकाले पनि यहाँका जनता स्वास्थ्यलगायत अन्य अति आवश्यक सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताए ।

लाइन्स क्लब अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुँदै सोलुखुम्बुसम्म ढुवानीको जिम्मेवारी लाइन्स क्लब काठमाडाैँले गरेको छ । अत्यन्तै संवेदनशील उपकरण भएकाले पोखराबाट सोलुखुम्बुसम्म ढुवानी गर्न करिब रु एक लाख २५ हजार बराबर खर्च भएको लाइन्स क्लब काठमाडाैँका सभापति राजेन्द्र कोइरालाले बताए ।

जनशक्ति भए पनि उपकरण नहुँदा यहाँका अधिकांश महिला ओखलढुङ्गाको मिशन अस्पताल या काठमाडौँलगायत अन्य स्थानमा जानुपर्ने बाध्यता छ । सोही बाध्यतालाई दृष्टिगत गर्दै उपकरण सहयोग मागिएको प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक राजभण्डारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्