सूर्याेदयबाट झुल्किँदै समृद्धिकाे किरण



इलाम: ‘यो नगरले जेजस्ता काम गरिरहेको छ, हामी यहाँबाट धेरैथोक सिक्दैछौं,’ माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले जिल्लाको सूर्याेदय नगरपालिकाका कामको समीक्षा गर्दै सार्वजनिक समारोहमा भने, ‘सूर्याेदयको कामले हामीलाई समृद्धिको प्रेरणा दिएको छ।’राई मात्र होइन, माई नगरपालिकाका मेयर दीपककुमार थेबेलाई पनि सूर्याेदय नगरपालिकाले गरिरहेका काम प्रभावकारी लागेको रहेछ। उनले भने, ‘सूर्याेदयलाई समृद्धिपथमा लैजान हरेक आधारले साथ दिएको छ, समृद्धिको गन्तव्यमा पुग्ने वातावरण बनाउन सूर्याेदयले उदाहरणीय काम गरिरहेको हामी सबैले देखेकै छौं।’

देशभरका स्थानीय तहमा जनप्रतिनिधि आएपछि नागरिकले गरेका अपेक्षा कति पूरा हुँदैछन्, कति काँचै छन् भन्नेबारे पालिकैपिच्छेका सर्वसाधारणको आआफ्नै अनुभव हुनसक्छ। तर, जिल्लाको सूर्याेदय नगरपालिका जनप्रतिनिधि चुनिएर आएको डेढ वर्षमा ‘नयाँ भिजन ल्याउने नगरपालिका’ को नामले १ नम्बर प्रदेशसहित देशभर चर्चामा उक्लिँदैछ। ‘सूर्याेदय नगरले समृद्ध नेपाल, सुखी नेपालीको भिजनमा काम गरिरहेको सुनेरै म नगरको काम हेर्न यहाँ आएको हुँ,’ १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गत आइतबार सूर्याेदयको चौथो नगरसभा उद्घाटनसत्रमै भनिदिए, ‘यहाँका मेयर साबको सक्रियतामा ल्याइएका नयाँनयाँ योजनाले सूर्याेदयलाई समृद्धिको गन्तव्यमा पुर्‍याएको देख्न पाउने विश्वास छ।’

सूर्याेदय देशमै चर्चामा उदाउनुका पछाडि उसले गरिरहेका काम नै आधार हुन्। चुनाव जितिसकेपछि टोलटोल पुगेर मेयरसहितका जनप्रतिनिधिले नागरिकको गुनासो नियमित सुन्न ‘गुनासो चौतारी’ अभियान चलाइएको छ। ‘चुनावअघि आफूले गरेका बाचा कति पूरा भए, कति बाँकी छन् भनेर सम्बन्धित वडाका जनप्रतिनिधिसमेतलाई राखेर नियमित रूपमा टोलटोल पुग्दैछौं,’ मेयर रणबहादुर राई भन्छन्, ‘गुनासो चौतारी अभियानमा जनताले हामीलाई सार्वजनिक रूपमा सजग गराउनुहुन्छ, सम्झाउनुहुन्छ, उहाँहरूकै सुझावअनुसार काम गर्छाैं।’

सूर्याेदय नगरका जनप्रतिनिधि मतदाताकहाँ प्रत्येक महिना नियमित पुगिरहेका छन्। ‘मेयरसहितका जनप्रतिनिधि आएर गाउँका समस्या सुनिदिँदा अबचाहिँ गाउँमा केही हुनेरहेछ भन्ने लाग्छ,’ वडा १ का रोहन राईले भने, ‘हामी गाउँलेलाई पनि वडा कार्यालय र नगरपालिकाबारे कुनै गुनासो भए खुला रूपमा राख्न पाउने राम्रो अवसर रहेछ गुनासो चौतारी।’

खर्च घटाउन, समय बचाउन र झन्झट हटाउने उद्देश्यले सूर्याेदयले केही महिनादेखि ‘पेपरलेस’ अवधारणा व्यवहारमा उतारेको छ। नगरपालिकाले मातहतका कार्यालयलाई पत्र पठाउन होस् वा नगरभरको सबैखाले तथ्यांक संकलन गर्न, कागजको प्रयोग गर्न छाडिसकेको छ। नगरका प्रत्येक धरधनीको तथ्यांक सफ्टवेयरमा संकलन गरिन्छ। कसैको विवरण हेर्नुपरे एकै क्लिकमा विस्तृत जानकारी पाउने खालको सफ्टवेयर प्रयोगमा ल्याएपछि कागजको प्रयोग गर्नुपरेको छैन।

‘सम्बन्धित नगरबासीले वेबसाइट खोलेर आफूलाई दिइएको पासवर्ड प्रयोग गरेपछि नगरले राखेको आफ्नो विवरण घरमै बसीबसी हेर्न सक्छ,’ सफ्टवेयरमा प्राविधिक सहयोग गरेका लोकप्रिय खनालले भने, ‘सूर्याेदयले अब वर्षैपिच्छे २५–२६ पानाको फाराम बोकेर नगरबासीको विवरण लिन गाउँगाउँ पुगिरहनुपर्दैन, एउटा एन्ड्रोइड मोबाइल बोकेर गएपछि सबै विवरण संकलन गर्न सकिन्छ।’ प्रत्येक वडामा कम्प्युटरको आन्तरिक नेटवर्क पनि विकास गरिएको छ। जसले इन्टरनेटबिनै काम गर्न सक्छ। यो नेटवर्क नगरका १४ वटा माध्यमिक विद्यालयमा पुर्‍याउने नगरको योजना रहेको खवर नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्