अन्यौलमा सचिवालय बैठक



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार)का लागि बोलाइएको छ ।

दुई ध्रुवमा विभाजित नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कुनै पनि हालतमा आजको बैठक सार्ने पक्षमा छ भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जसरी पनि सचिवालय बैठक बस्ने अडानमा छन् ।

नेकपा विवाद दुर्घटनातर्फ उन्मुख भइरहेको बेला आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ । आजको बैठक प्रधानमन्त्री ओलीकै सहमतिमा महासचिवले बोलाइएकाले ओली पक्ष दवावमा छ ।

गत शुक्रबार प्रस्तुत भएका प्रस्ताव तथा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पत्रमाथि आज छलफल गर्ने टुंगो भएको थियो । तर, आफूमाथि प्रचण्ड–नेपाल समूहले गम्भीर आरोप लगाएपछि बैठक सार्न ओलीको प्रयास जारी छ ।

ओलीले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए । यसैगरी चिनियाँ राजदूत हाउ यान्छीसँग करिब डेढ घण्टा बालुवाटारमा छलफल सकेर ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतल निवास पुगेका हुन् ।

पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पुर्याएर नयाँ दल बनाउने ओलीको प्रयास पनि जारी छ । त्यसका लागि आफूसँग भएका सांसदले बहुमत नपुग्ने भएकाले ओलीले तत्कालिन नेकपा माओवादी केन्द्रका सांसदहरुसँग पनि परामर्श गरेका छन् ।

संसदीय दलमा बहुमत नपुग्दा पार्टी विभाजन गर्न विद्यमान कानून बाधक छ । अहिलेको कानूनअनुसार संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतर्फ ४० प्रतिशत आवश्यक पर्छ । त्यसैले ओलीले संसदीय दलमा मात्र न्यूनतम ४० प्रतिशत पुर्याएर पार्टी विभाजन हुन सक्ने कानुन ल्याउन खोजेका थिए ।

यसअघि पनि पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका ओलीले चौतर्फी आलोचनापछि फिर्ता लिएका थिए । त्यतिबेला रातारात पेश भएको अध्यादेश राष्ट्रपति भण्डारीले एकै छिनमा जारी गरेकी थिइन् । त्यसले पनि राष्ट्रपति भण्डारी विवादमा तानिएकी थिइन् ।

अहिले पनि ओलीमाथि पार्टीमा चर्को दवाव परेकाले मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्ने आँकलन गरिएको छ । यो विकल्पमा ओलीले राष्ट्रपति भण्डारीलाई पटकपटक भेटेर छलफल गरेका छन् ।

तर, राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा मात्र भएपनि बहुमत सावित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएको बुझिएको छ । हिजो नै ओलीको सन्देश लिएर खुमलटार पुगेका महासचिव विष्णु पौडेलले प्रचण्डलाई भेटेर आजको बैठक सार्न आग्रह गरेका थिए ।

यो पनि

सचिवालय बैठक सार्न प्रचण्डलाई ओलीको प्रस्ताव

ओली समूह सहभागी नभएपनि सचिवालय बैठक नरोकिन प्रचण्ड–नेपाल समूहद्वारा स्पष्ट

बालुवाटारमा ओली पक्षका नेतहरुको भेला

प्रकाशित : मंसिर ३, २०७७

प्रतिक्रिया दिनुहोस्